गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

नियमित क्रियाकालाप/गतिविधिहरु


यस आयुर्वेद स्वास्थ्य केन्द्रले बिरामीहरूलाई नि:शुल्क ओपीडी सेवा प्रदान गर्दछ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुले तोकेको २३ थरिका आयुर्वेदिक औषधिहरु यस स्वास्थ्य केन्द्रको डिस्पेन्सरीबाट चिकित्सक/प्राविधिक कर्मचारीको सिफारिस बमोजिम निशुल्क उपलब्ध गराइन्छ। यसले नि:शुल्क पूर्वकर्म-पञ्चकर्म थेरापी सेवा पनि प्रदान गर्दछ। यस कार्यालयबाट “आयुर्वेद सिद्धान्त अनुसार योग र स्वस्थ जीवनशैली” सम्बन्धी सत्रहरू बिरामी र सर्वसाधारणका लागि आवधिक रूपमा सञ्चालन गरिन्छ। यस बाहेक, पर्वतले ज्येष्ठ नागरिक, सुत्केरी आमा र अन्य समूहहरूलाई विशेष स्वास्थ्य सेवा पनि प्रदान गर्दछ । जसअन्तर्गत जेष्ठ नागरिकहरुको लागि अश्वगन्धा, आमलकी, च्यवनप्राश लगायत बल्य र पुष्टिकर जडिबुटी/औषधिहरु उपलव्ध गराइ जराजन्य रोगहरूमा पूर्वकर्म-पंचकर्म सेवा अन्तर्गतको सेक-ताप-मालिस जस्ता सेवा निशुल्क दिइन्छ भने स्तनपायी आमाहरुलाई सतावरी, दशमूल, ज्वानो लगायतका दुग्धवर्धक जडिबुटी औषधिहरु वितरण गरिन्छ । आयुर्वेद स्वास्थ्य शिविर, योग शिविर, स्वास्थ जीवनशैली बारे प्रशिक्षण कार्यक्रम, आयुर्वेद र स्वास्थ्य सचेतना कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, औषधीय वनस्पति र यसको प्रयोगको परिचयात्मक सत्र, आयुर्वेदकर्मी र परम्परागत चिकित्साकर्मीलाई विविध तालिम आदि, पर्वतले नियमित रूपमा सञ्चालन गर्ने अन्य कार्यक्रमहरू हुन् । यसका साथै आ.व. २०७७/७८ देखि कार्यालयले सुपथ मुल्यमा ल्याब सेवा पनि दिदै आइरहेको छ ।

यी कार्यक्रमका अतिरिक्त निजि आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य संस्थाको अनुगमन-निरीक्षण गरी संचालन स्वीकृति, नविकरण वा स्तरोन्नति गर्नु पर्ने अवस्थामा आवश्यक समन्वय गर्ने र स्थानीय तहका आयुर्वेद औषधालयहरुसंग प्रशासनिक, प्राविधिक, तथ्यांकगत आदि विषयमा समन्वय गर्ने कार्य गर्दछ ।